भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ६० पुग्यो
काठमाडौं:जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ६० पुगेको छ । यस्तै ५६९ जना घाइते भएका छन । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित बनेको छ ।
भूकम्पका कारण जाजरकोटमा १०७ जनाको तथा रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
घाइतेमध्ये ४१ रिफर भएका छन्। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ। प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।
Share on Twitter