आज र भोलि बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईदै
काठमाडौं:राष्ट्रिय भिटामिन ए कार्याक्रम आज र भोली सञ्चालन हुदै छ । ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यसअघि सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी बर्षको दुई पटक यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
यस पटक त्यो समयमा दशैं परेकोले नियमित मिति भन्दा दुई साता पछि सरेको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ४० लाख क्याप्सुल भिटामिन ‘ए’ र ३५ लाख ट्यावलेट जुकाको औषधि व्यवस्थापन गरिएको महाशाखा प्रमुख डा विवेकलाल कर्णले बताए ।
सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि २०५६ बाट खुवाउन थालिएको हो। महाशाखा अन्तरगतको पोषण शाखाका प्रमुख लिला बिक्रम थापाले यस कार्यक्रम सञ्चालनका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी खटिने बताए ।
उनले विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरूमा भिटामिन ‘ए’र जुकाको औषधि प्राप्त गर्न सकिने जानकारी दिए । भिटामिन ‘ए’र जुकाको औषधि खुवाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरू टोलटोलमा पुग्नेछन्। दुई चरणको यो कार्यक्रममा ९ करोड ५१ लाख खर्च हुने अनुमान गरिएको छ ।
जसमा ४० लाख क्याप्सुलका लागि १ करोड २० लाख र ३५ लाख ट्याब्लेटका लागि १ करोड ३१ लाख २५ हजार खर्च हुनेछ । साथै महिला स्वास्थ्य स्वयम् सेविका परिचालन खर्च ४ करोड १६ लाख र स्वास्थ्यकर्मी परिचालनका लागि ३ करोड खर्च हुने अनुमान गरिएको छ ।
Share on Twitter