गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा
नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो। बुधबार नै सुरु गरिएको निःशुल्क आँखा शिविरमा दुई सय १९ जनाले आँखा जाँच गराएका छन्।
शिविरमा १४ जनामा मोतिविन्दु, सात जनाको आँखामा मासु पलाएको, १९ जनामा आँखा चिलाउने, आँसु आउने समस्या र १९ जनामा चस्मा लगाउनुपर्ने समस्या भेटिएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटाले जानकारी दिए।
यसैबीच अस्पतालको भीमराज उषामाया पाठक आँखा बैंक नानी सङ्कलन केन्द्रमा एक हजार दुई सय ९२ जनाले आँखा दान गर्ने इच्छा पत्र पेश गरेका छन्।
हालसम्म २५ जनाले आँखाको नानी दान गरेका छन्। हालसम्म अस्पतालबाट एक सय ३१ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकका संयोजक छाँया श्रेष्ठले जानकारी दिए।
विसं २०७४ मा स्थापना भएको बैंकले पहिलो पटक २०७५ सालमा गैँडाकोट–२ मा ८४ वर्षीय कलाधर गौतमको आँखाको नानी सङ्कलन गरेको थियो।
गैँडाकोट नगरपालिका र भरतपुर आँखा अस्पतालबीच भएको सम्झौताअनुरुप आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकाले आवश्यक भवन निःशुल्क उपलब्ध गराएको छ।
केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०८०÷८१ देखि निरन्तर वार्षिकरुपमा पाँच वर्षसम्म नगरपालिकाले रु छ लाख भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने छ। तर, दैनिक २५ जनाको अनुपातमा बिरामी उपचार केन्द्रमा परीक्षणको लागि दर्ता भई परीक्षण गराएमा नगरले वार्षिकरुपमा प्रदान गर्ने रकम प्रदान गर्नु नपर्ने गरी सम्झौता भएको छ।
नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने औजार उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेसनरीको सामान उपलब्ध गराउने छ। आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवा सुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने एवं औजार उपकरणको मर्मतसम्भार तथा अन्य व्यवस्थापकीय कार्य भरतपुर आँखा अस्पतालले गर्नेछ। सम्झौताअनुसार आवश्यकताअनुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एक पटक निःशुल्क शल्यक्रियसहितको आँखा शिविर सञ्चालन गर्नेछ।
Share on Twitter