दसैँ अवधिमा ८९९ सवारी साधन कारवाहीमा
कावासोती : नवलपुरमा दशैँको समयमा मात्र नियमविपरीत सञ्चालन भएका ८ सय ९९ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित आठ सय ९९ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताए ।
घटस्थापना देखि पूर्णिमासम्म सवारी नियम उलंघन गर्ने, बढी भाडा निले, छतमा यात्रु राख्ने, झुण्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, विना हेलमेट हिड्ने सवारी साधान कारवाहीमा परेका हुन । चार्डपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुण्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधान चालाउने काम भइरहेकोले त्यसलाई कडाईका साथ चेकजाँच गर्ने काम गरिएको उहाँको भनाइ छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर सात लाख एघार हजार पाँच सय राजस्वसमेत संकलन भएको ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वडादशैको अवधीमा मात्रै २ सय ४० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । दशै, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो । ‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाकाका साथ प्रहरीले अभियानलाई तीब्रता दिएको जनाएको छ ।
भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकसमेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिने क्रम कमी भएको प्रमुख आर्चायको दाबी छ । सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढि सवारी दुर्घटना हुने गरेको पाइन्छ । नवलपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष दशैंको अवधिमा सवारी दुर्घटनामा कमी आएको छ ।
जिल्लामा घटस्थापनादेखि पूर्णिमासम्म ८ वटा सवारी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा रिफ्रेस सेन्टरको व्यवस्था गरिएको छ ।
लामो दुरीका सवारी साधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताए । यसवर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयले दशैतिहार लक्षित विशेष सुरक्षा, जाँच तथा अनुगमनमा कडाई गरेको थियो ।
Share on Twitter