आज दशैँको मुख्य दिन विजयादशमी,मान्यजनबाट टीका र जमरा लगाइँदै
काठमाडौं:आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ ।
Share on Twitter