दशैँमा यसरी गर्नुस् छालाकाे सुरक्षा
काठमाडौं :दसैँ पर्व हामीले विन्दास ढंगले मनाइन्छ । काम, कमाई सबैको तनावबाट मुक्त भएर दसैँ मनाउँदा हामीले हाम्रो स्वास्थ्य बिर्सने गर्दछौँ ।
नवरात्र सुरु भए देखिनै मन्दिर जाने टिका लगाउने क्रम सुरु भएको छ । अझ विजयादशमीका दिन निधारभरि टीका र शिरमा जमरा लगाउने हामी नेपालीहरूको चलन छ । यो दिन रातो टीका र जमरा लगाइदिँदै मान्यजनले आफूभन्दा सानालाई आशीर्वाद दिन्छन्। हामी दसैँ चाडबाड भनेर छालाको खासै हेरचाह गर्दैनौँ।
टीकामा कमसल खालको रङ (अबिर) पर्यो भने यसले छालालाई असर गर्न सक्छ। कसै कसैको छाला निकै संवेदनशील हुन्छ । नब्बे प्रतिशत घुलनशील रङ्ग बनाउन स्वास्थ्यमा प्रतिकुल असर पार्ने डाईहरू प्रयोग गरिन्छ। सुख्खा रङ्ग बनाउन सिसा, मरक्यिुरी, पेट्रोलियम प्रोडक्ट जस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिन्छ ।
यसरी बनाइएका सुख्खा रङ्गमा एस्वेस्टस र सिलीका जस्ता तत्त्व पनि हुन्छ । यी तत्त्वले आँखा र छालाको संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोग जन्म दिन्छ । त्यसैले रङ्गको चयन गर्दा गुणस्तरमा ध्यान दिन जरुरी छ । अर्को कुरा दसैँमा आफन्तसँग भेटघाट गरिन्छ, मिठो–मसिनो खाइन्छ, रमाइलो गरिन्छ ।
आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौँ । यही कारण त, दसैँको अस्तव्यस्त जीवनशैली र खानपानले हाम्रो स्वास्थ्यमा समस्या निम्त्याउँछ । यो समय मौसम परिवर्तन हुने समय पनि हो । अर्को तर्फ हाम्रो खानपान पनि अलि फरक हुने भएकाले छालामा पनि असर गर्दछ । माछा मासु खाँदा अक्सडीटि स्ट्रेस बढ्ने भएकाले हामीले खानपानमा ध्यान दिनुपर्छ । माछा मासु सँगसँगै हामीले हरियो सागपात तरकारी र फलफुलमापनि जोड दिनुपर्छ ।
हरियो तरकारी र फलफूलमा एन्टीअक्सिडेन्ट पाइने भएकाले मासु खाँदा हुने अक्सडीटि स्ट्रेस कम गराउँछ । यस्तै गर्मी मौसम सकिएर जाडो मौसम सुरु हुँदा छाला सुख्खा हुने , चिलाउने जस्ता समस्या देखिन सक्छ ।
अझ चाडबाडको समयमा घरबाहिर बढी हिँडडुल हुनेभएकोले छालालाई जोगाउन आवश्यक छ । लामो बाउला भएका कपडा लगाएर बाहिर निस्कनुपर्छ भने घाममा निस्कँदा टोपी वा छाताको प्रयोग गर्नुपर्छ । अर्को कुरा बाहिर निस्कँदा मोस्चराइजर क्रिम को प्रयोग गर्नुपर्छ ।
( डा.मोहन भुसाल छाला यौन तथा सौन्दर्य विशेषज्ञ हुन् )
Share on Twitter