आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै
काठमाडौं:बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ। दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ।
महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ। यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, नवलपुरको दाउन्नेदेवी , मौलाकालिका , वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।
हनुमानढोकास्थित दशैंघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुन्छ। त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ ।
आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखेर पूजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । घटस्थापनाको दिन घरघरमा जमरा राखेर दशैँ शुरु भए पनि फूलपाती, महाष्टमी, महानवमी र विजयादशमीलाई विशेष मानिन्छ ।
Share on Twitter