स्वास्थ्यकर्मी आफै बिरामी भएपछि अस्पतालको सेवा बन्द
काठमाडौं: जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आफै बिरामी भएपछि अस्पतालको सेवा बन्द भएको हो ।
जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना बिरामी भएका छन् । ढुङ्गाना उपचारका लागि काठमाडौँमा छन् । अस्पतालले एक सूचना जारी गर्दै अस्पतालको सेवा बन्द भएको जानकारी गराएको हो ।
गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, ’अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ।’ जिल्ला अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य भएको जानकारी दिए।
विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन। अस्पताललाई ‘निकसाइमन’ नामक संस्थाले एकजना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो। ती स्वास्थ्यकर्मी आफै बिरामी भएको अवस्थामा पटक पटक प्रसूति सेवा बन्द गर्ने गरिएको छ।

Share on Twitter