न्याम्समा ३० नर्ससहित ६३ दरबन्दी सिर्जना
काठमाडौं:चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेटले वीर अस्पतालका लागि अत्यावश्यक मानिएका प्राविधिक समूहको विभिन्न ६३ पदमा दरबन्दी स्वीकृत गरेको छ ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको ३० औँ सभाले चिकित्सक, नर्स र प्यारामेडिक्स गरी ६३ वटा थप दरबन्दी सिर्जना गरेको हो ।
बैठकले नाक कान घाँटी तर्फ स्पीच थेरापिका लागि एक जना अडियोलोजिष्ट, यस्तै रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ तह पाँच जना पदपूर्तिका लागि स्वीकृत गरेको हो ।
यस्तै फार्मेसीका लागि केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, अरु चालक अरु सहायक सहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय गरेको छ ।
यस्तै बैठकले तीन जना नयाँ सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ । थपिएका नयाँ सिनेट सदस्यमा पूर्व राजदुत प्रा.डा. चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दिपक सिग्देल रहेका छन् । त्यसैगरी, प्राज्ञिक परिषद्मा प्रा.डा. अजित रायामाझी, प्रा.डा. दीपेन्द्र श्रेष्ठ र प्रा.डा. सरोज शर्मालाई नियुक्त गरेको छ ।
Share on Twitter