शिशु बिक्री गर्ने चिकित्सकसहित तीनजना कारागार चलान, तीन जना धरौटीमा रिहा
काठमाडौं:नवजात शिशु बिक्री गरेको आरोप लागेका एकजना चिकित्सकसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले तीन जनालाई पुर्पक्षका लागि कागागार चलानको आदेश दिएको छ भने तीन जना धरौटीमा रिहा भएका छन्।
इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।
उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ । अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार विराटनगर–११ जनपथ टोलका निर्मला यादव, मोरङ कटहरी–२ की शुक्री राजवंशी र दिलमनीदेवी राजवंशीलाई धरौटी छाड्न आदेश भएको छ ।शुक्रीसँग दुई लाख, निर्मलासँग एकलाख र दिलमनीदेवीसँग १० हजार रुपैयाँ धरौटी माग गरिएको जनाइएको छ ।
२६ वर्षीया अविवाहित युवतीले असार १४ गते ग्रिनक्रस अस्पतालमा शिशु जन्माएका थिए । बिहे गर्ने प्रलोभन देखाएर गोविन्दले गर्भवती बनाएपछि प्रसूतिका लागि अस्पताल लगेका थिए ।
अविवाहित युवतीबाट जन्मिएकी शिशु बेपत्ता पारिएको थियो। शिशुकी आमाले जाहेरी दिएपछि अनुसन्धान गर्दै जाँदा अस्पतालका चिकित्सककै संलग्नतामा बिक्री गरिएको खुलेको थियो। त्यसपछि प्रहरीले उक्त प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो।
Share on Twitter