वीरमा विज्ञापनमार्फत नयाँ कर्मचारी नियुक्ति प्रक्रिया सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं:स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले संविधानमा उल्लेख भएको आधारभूत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने मौलिकहक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको बताए ।
उनले स्वास्थ्यकर्मीको उत्पादन बढाउन चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको बताए । पछिल्लो समय वीर अस्पतालबारे आइरहेका समाचार आंसिक मात्र सत्य रहेको उनको भनाई छ । उनले भने -वीर अस्पतालको बिषयमा समाचारमा आएजस्तो भने होइन । मैले त्यहाका विभागिय प्रमुखहरुसंगपनि बुझेको छु र उहाँहरुको आवश्यकता के हो भनेर सोधेको पनि छु । यदी जनशत्तिःको अभावमा कुनै सेवा नै बन्द हुने स्थिति छ कि भनेर सोधेको थिए तर बाहिर आएजस्तो भने रहेन छ ।’
मन्त्री बस्नेतले कोभिड–१९ को बेलामा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्नुपरेको बताए । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै अब चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रक्रिया थाल्ने बताए ।
Share on Twitter