स्वास्थ्य क्षेत्रसुधार गर्न स्वास्थ्य मन्त्रीलाई प्रेरित गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई समेत उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताए ।
स्वास्थ्य सेवा नीति निर्माताले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस सम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री दाहालले दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिने र उनीहरुलाई पर्दा सहयोग गर्न अपिल गरे । यस्तै उनले मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन आग्रह गरे ।उनले स्वास्थ्य मन्त्रीको नेतृत्वमा महत्त्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसा समेत गरे ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रको विकास र जनतालाई सेवासुविधा दिने विषयमा नयाँ योजना र कार्यक्रम अघि सार्न मैले स्वास्थ्य मन्त्रीलाई निरन्तर प्रेरित गरिरहेको छु ।’ प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षा ऐन संशोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताए ।
Share on Twitter