काठमाडौँ महानगरपालिका बासीलाई रगत निःशुल्क
काठमाडौं:काठमाडौँ महानगरपालिका बासीले रक्त सेवाकालागि पैसा तिर्न नपर्ने भएको छ ।महानगरले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा महानगर बासीलाई निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने भएको हो ।
महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा आज कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए। महानगर बासीले यो सेवा जुनसुकै अस्पतालमा उपचार गराउँदा पनि पाउन जनाइएको छ ।
काठमाडौँ महानगर बासी भएको प्रमाण खुल्ने नागरिकता वा बसाइसराइ वा घर जग्गा कर तिरेको कागजात लिएर रेडक्रसको केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराइने महानगरले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट, जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट १३ सय उपलब्ध गराउने भएको छ ।
Share on Twitter