इजरायल आक्रमणमा परी मृत्यु भएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा
काठमाडौं:इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस्तै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको जनाइएको छ ।
यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।
असोज २२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।
२. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने ।
३. परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने ।
४. यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।
५. इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।
६. इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।
७. अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने ।
८. इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
९. इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
१०. इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने ।
११. यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने ।
Share on Twitter