इजरायलमा अलपत्र परेका नेपालीको अवस्थाबारे जानकारी लिने यी हुन् सम्पर्क व्यक्ति
काठमाडौं:सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगकालागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको छ ।
सरकारले परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । यस्तै नेपाली राजदूतावास इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ ।
सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ । सरकारले प्रभावित क्षेत्रमा रहेका नेपालीलाई पहिलो प्राथमिकतामा राखेर सहयोगको योजना बनाएको प्रवक्ता लम्सालले बताइन् ।

Share on Twitter