सरकार र राहत शिक्षकबीच सहमति,प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने
काठमाडौं:राहत तथा बालविकास शिक्षकहरु आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
राहतका शिक्षकहरुलाई प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने , २०७६ पछि स्थायी नियुक्ति लिएका तर लामो समय राहत तथा अस्थाई करार उच्च मावि अनुदान दरवन्दिमा कार्य गरेका शिक्षकको हकमा पेन्सनका लागि समयावधि नपुगेमा पुरानो सेवावधि जोडेर शिक्षा ऐन २०२८ को व्यवस्था अनुसार निवृत्तभरणको ब्यवस्था गर्ने सहमति भएको छ ।
यस्तै शिक्षकको सरुवाका सम्बन्धमा परीक्षण काल समाप्त भए पछि सरुवा हुने व्यवस्था गर्ने सहमति भएको छ । शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए । सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए ।





Share on Twitter