चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा डाक्टरहरुकाे प्रदर्शन
काठमाडौं:चिकित्सक तथा स्वास्थ्यकर्मी माथीको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन ।
माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।

आन्दोलनकै भिडमा भेटिएकी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत्त डा सरस्वती भट्टराईले कार्यस्थलमा सुरक्षाको प्रत्याभुत हुन नसकेपछि हजारौंको संख्यामा चिकित्सकहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताइन्। पोखराको मणिपाल शिक्षण अस्पताल, जिल्ला अस्पताल लमजुङमा डाक्टरमाथि आक्रमण भएको थियो।

केही समयअगाडि हेटौडाको सञ्चो अस्पतालमा कार्यरत २ जना डाक्टरमाथि कुटपिट भएको थियो। त्यसकै विरोधमा माइती घरमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले ’दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ’अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ’, ’डाक्टर कुट्न पाइँदैन’,’ पेशा छोडौं कि देश छोडौं’ लगायत प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
Share on Twitter