स्वास्थ्य अनुसन्धानलाई बढवा दिन ‘एनएमए नेशनल हेल्थ समिट २०२३’
असोज १२ र १३ गते हुने
काठमाडौं:नेपाल चिकित्सक संघ (एनएमए )को आयोजनामा ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने भएको छ । यो हेल्थ समिटको तेस्रो संस्करण हो ।
असोज १२ र १३ गते बबरमहलस्थित कार्की व्याङ्केटमा समिट आयोजना गर्न लागेको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती भन्ने सन्देशका साथ सुरु हुन लागेको यो सम्मेलनमा ६ वटा छलफलका मुख्य विषय छानिएको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा चोपलाल भुसालले बताए ।
भुसालले सम्मेलनमा छलफल मात्र नहुने बताउँदै निस्कने निचोडलाई कार्यान्वयन गर्न पहल गर्ने बताए । दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तनका बारेमा छलफल हुने चिकित्सक संंघका महासचिव डा.सञ्जीव तिवारीले बताए ।
सम्मेलनमा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा नीतिगत विचार विमर्श मार्फत सैद्धान्तिक बहस हुने उनको भनाइ छ ।
यस्तै पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले नीतिगत रूपमा सरकारको ध्यानाकर्षण गराउन सम्मेलन आयोजनाको मुख्य उद्देश्य रहेको बताए । उनले सम्मेलनको समापन पश्चात् वैज्ञानिक रूपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने समेत जानकारी दिए ।
यस्तै संघका पूर्व अध्यक्ष डा लोचन कार्कीले संघले पेसागत हकहित बाहेक स्वास्थ्य अनुसन्धानलाई बढवा दिन, स्वास्थ्य नीतिलाई सहयोग गर्नका लागि यो समिट आयोजना गरिएको बताए ।
संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एशोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर प्रत्येक वर्ष ‘बार्षिक क्यालेण्डर इभेन्ट’को रुपमा याे सम्मेलन आयाेजना हुँदै आएकाे छ ।
Share on Twitter