एसईई को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं:राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ । ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।
सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।

Share on Twitter