ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि सुरक्षाकर्मीकै अगाडि आक्रमण
काठमाडौं:सुदूरपश्चिमको कञ्चनपुरमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि आक्रमण भएको हो ।
बिरामीको आफन्त भन्दै एक व्यक्तिले ड्यूटीमा रहेका गैरेलाई सोमबार राती ११ः१५ बजेको समयमा आक्रमण गरेका हुन् । टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचार गरिरहेका गैरेमाथि बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले आक्रमण गरेका हुन्।
केन्द्रको सिसिटिभी फुटेज अनुसार खड्काले स्वास्थ्यकर्मी गैरेको घाँटी अठ्याउँदै आक्रमण गरेको देखिन्छ । आफूमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी गैरेले सिसिटिभीमा सबै कैद भइरहेको जानकारी दिएपछि आक्रमणकारी खड्काले थप आक्रमण नगरेको गैरेले जानकारी दिए।
सिसिटिभी फुटेज अनुसार खड्काले सुरक्षाकर्मीकै अगाडि स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण र गालीगलौज गरेको देखिन्छ। सरकारले हेटौंडाको सञ्चो अस्पतालमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने गरी चिकित्सक संघसँग सहमति गरेको ४८ घण्टा वित्न नपाउँदै सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।
Share on Twitter