दिवा खाजा प्रभावकारी बन्दै, विद्यार्थीहरू नियमित हुन थाले
ओखलढुंगा : मानेभञ्ज्याङ्ग गाउँपालिका ८ राघवपुर स्थित श्री शिवदुती आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत पुजा सार्की विद्यालयमा दिवा खाजा कार्यक्रम लागु हुँदा खुसी छन् ।
आर्थिक अवस्था कमजोर हुँदा घरबाट प्राय खाजा लान पाउदैनथिइन । एक घण्टाको बाटो हिँडेर विद्यालय पुग्दा नै उनलाई भोक लाग्थ्यो । तर उनीसँग खाना हुँदैन थियो । खाजा खाने समयमा साथीहरूले थरी थरीका परिकार खाएको देख्दा उनको मन लोभिन्थ्यो । कहिलेकाहीँ विद्यालय नै छाडेर घर जान्थिन ।
उनलाई एक्लो महसुस हुन्थ्यो । त्यसैले विद्यालयप्रतिको उनको लगाव घट्दै गयो । कहिलेकाहीँ घरबाट विद्यालय हिँडे पनि बिच बाटोमै खेलेर घर फर्कन्थिइन उनी । पढाइमा पनि त्यति मन जाँदैनथ्यो । तर अहिले विद्यालयमा दिवा खाजा कार्यक्रम लागिभएपछि उनी नियमित कक्षामा उपस्थित हुन थालेकी छन् ।
यस्तै कक्षा ६ मा पढ्ने पवन दर्जी पनि कति बेला टिफिन होला र घर जाउँला भनेर कुर्थे । अहिले विद्यालयमै दिवा खाजा खान पाउँदा दङ्ग छन् । उनी भन्छन् “घरमा खाजा खान गएको बेला विद्यालयमा आउँदा पढाइ छुट्ने गर्थ्यो। अहिले विद्यालयमै खाजा खान थालेपछि सबै विषय पढ्न पाएको छुँ ।”
विद्यालयमा फरक दिन फरक खाजा हुँदा कक्षा तीन मा पढ्ने बिपना राई पनि निकै खुसी छन् । गाउँबाट विद्यालय आउने कतिपय बालबालिकाको घरको अवस्था नाजुक छ । जसका कारण दिवा खाजाको भरमा भोक मेट्नुपर्ने बाध्यता रहेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बालबालिकाको विद्यालयमा उपस्थिति नियमित हुने गरेको विद्यालयको दाबी छ ।

कार्यक्रमले अभिभावकमा आर्थिक भार कम परेको छ भने विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुने गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बास्तोलाले बताए ।कक्षा ८ सम्म पढाई हुने विद्यालयमा कक्षा ६ सम्म मात्र दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यालयमा २०७९ माघ १२ गतेबाट कार्यक्रम सञ्चालन भएको हो ।
विद्यालयमा दिवा खाजा कार्यक्रम सुरुभएपछि जंकफुड प्रयोग पनि घटेको प्रधानाध्यापक बास्तोलाले बताए । ‘अधिकांशले खाजामा पैसा लिएर आउँथे, त्यसले किन्ने भनेको चाउचाउ, चटपटे, बिस्कुट हो र त्यही खान्थे,’ उनले भने, ‘अहिले विद्यालयमै खाजा हुन्छ, खाजाको लागि भनेर पैसा पनि ल्याउनु परेन, जंकफुड प्रयोग पनि घट्यो ।’ विद्यालयले स्थानीय उत्पादनलाई नै खाजामा समेटेको छ ।
बारअनुसार मकै भटमास ,रोटी तरकारी ,भुटिमाम ,जाउली माम ,गेडागुडी ,सिजन अनुसार को फल फुल, विद्यार्थीहरुकालागि दिने गरेको बताइएको छ । विद्यालयमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेका छन् । दिवा खाजा कार्यक्रमले खाजामा समानता पनि ल्याएको प्रधानाध्यापक बास्तोलाले बताए । ‘हुनेखानेका छोराछोरीले मिठै ल्याउँथे, नहुनेले सामान्य खाजा ल्याउँथे, कतिले खाजै ल्याउँदैनथे तर अहिले स्कुलले दिने हो, सबैलाई एउटै खाजा हुन्छ ।’ यो कार्यक्रमबाट अभिभावकहरू पनि खुसी भएको उनले बताए ।
Share on Twitter