लक्षित किशोरीमध्ये ४० प्रतिशतले मात्र एचपिभी खोप लगाए
काठमाडौं :किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । भदौ २७ गतेदेखि ३० गते सम्म भनिएको खोपको डेमोस्ट्रेसन अभियानको समय थप भएको हो ।
लक्षित किशोरी नआएपछि असोज ५ गते सम्म थप भएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनले भने, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।” गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ ।
लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको उनले जानकारी दिए । सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।
मन्त्रालयले सवै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ । खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।
सरकारले गत भदौ २७ गतेबाट कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।
Share on Twitter