सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
काठमाडौं:नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुवै पक्षका टोलीबीच भएको वार्तामा छ बुँदे सहमति भएको हो ।
सहमतिसँगै संघले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । सहमतिअनुसार यही भदौ २७ गते सन्चो अस्पताल हेटाँैडामा कार्यरत रहेका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमणमा संलग्न भएका दोषीहरूलाई तत्काल पक्राउ गर्ने र पक्राउ परेका चारजना, पक्राउ पुर्जी जारी भएका पाँचजनासहित दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९) अनुसार कारबाही गर्ने जनाइएको छ ।
यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९) को प्रभावकारी कार्यान्वयन गर्न सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने उल्लेख छ । यस्तै सोही ऐन (पहिलो संशोधन ऐन, २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउन मासिकरूपमा बैठक बस्ने व्यवस्था गर्ने सहमति भएको छ ।
सरकारी वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा बिकास देवकोटा, गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सङ्गीता ओझा र स्वास्थ्य मन्त्रालयका सहसचिव रमेशकुमार केसी रहेका थिए ।
आन्दोलनरत चिकित्सक सङ्घबाट अध्यक्ष डा कार्कीसहित उपाध्यक्षद्वय डा नन्दा गुरुङ, डा प्रकाश बुढाथोकी, डा प्रशान्त भट्ट र महासचिव डा सञ्जीव तिवारी रहेका थिए ।
नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन दबाब दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो । सहमतिसँगै अस्पतालका सबै सेवा सुरु हुने नेपाल चिकित्सक संघले जनाएको छ ।


Share on Twitter