चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका स्वास्थ्य सेवा बन्द
काठमाडौं:हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।
उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेक सबै सेवा बन्द गएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । काम गर्न सुरक्षित नभएपछि सेवा ठप्प पारेको चिकित्सकहरुको भनाइ छ ।
यसैबिच डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् । बुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन् ।
बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Share on Twitter