हेटौँडामा डाक्टर कुट्ने ४ जना पक्राउ
काठमाडौं:सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा संलग्न ४ जना पक्राउ परेका छन् ।
कुटपिटमा संलग्न मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन् । गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए।
४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो। तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्टमाथि शंका लाग्यो र उनीहरूले अन्यत्र लैजाने भनेपछि अस्पतालले २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरेको थियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो।
यता मृतकका आफन्तले भने सञ्चो अस्पतालको लापरवाहीका कारण बिरामीको मुत्यु भएको आरोप लगाएका थिए । आफन्तको मुत्युपछि अस्पतालमै पुगेर डाक्टरमाथी कुटपिट गरेका थिए । अस्पतालमै डाक्टर कुटिएपछि नेपाल चिकित्सक संघले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको थियो । संघका अध्यक्ष अनिल बिक्रम कार्की नेतृत्वको टोलीले चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही गर्न माग गरेको थियो ।
यस्तै संघले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्न ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको छ । आज पत्रकार सम्मेल नै गरेर ७२ घण्टा भित्र कारवाही नगरे देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष डा. अनिल बिक्रम कार्कीले घटनामा सम्लग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संशोधन ऐन २०७९ बमोजिम कार्वाही गर्नुपर्ने बताए। उनले स्थानीय प्रशासनले घटनालाई गम्भीरताका साथ अघि बढाउनु पर्नेमा जाहेरी नपरेको तथा अन्य विभिन्न बहाना गरी कार्वाही प्रक्रियालाई फितलो गर्न खोजेको आरोप समेत लगाए।
Share on Twitter