फूड सप्लिमेन्ट सिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित छ : नेपाल चिकित्सक संघ
काठमाडौं:फूड सप्लिमेन्ट प्रेस्क्राइब गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको नेपाल चिकित्सक संघले दावी गरेको छ । फूड सप्लिमेन्ट प्रेस्क्राइब गर्न नहुने सूचना सम्प्रेषण भएकोमा संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ती जारी गर्दै डाक्टरले औषधीसँगै सिफारिस गर्ने फूड सप्लिमेन्ट/न्यूट्रास्युटिकल्स/डायटरी सप्लिमेन्टहरु प्रतिबन्धित भएका औषधी भनी भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकोमा ध्यानाकर्षण भएको जनाएको हो।
संघले भनेको छ ‘विभिन्न सञ्चार माध्यमहरुमा सर्व साधारण नागरिकहरुलाई भ्रममा पार्ने गरी फूड सप्लिमेन्ट/न्यूट्रास्युटिकल्स/डायटरी सप्लिमेन्टहरुलाई प्रतिबन्धित भएका औषधी भनी चिकित्सकबाट सिफारिस गर्न नहुने जस्ता अत्यन्तै भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकोमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ।’
चिकित्सक संघले नै पनि रोगको स्वास्थ्य उपचारका क्रममा विरामीलाई आवश्यकता अनुसार औषधी तथा फूड सप्लिमेन्ट/न्यूट्रास्युटिकल्स/डायटरी सप्लिमेन्टहरु सिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको दावी समेत गरेको छ।
चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भगिएको छ ‘चिकित्सकहरुले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गरेका फूड सप्लिमेन्ट/न्यूट्रास्युटिकल्स/डायटरी सप्लिमेन्टहरु विरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आईरहेको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ।’
विज्ञप्तीमा ‘ऐन, कानून बिपरित कुनै पनि संघ संस्थाको नाममा यो या त्यो फूड सप्लिमेन्ट/न्यूट्रास्युटिकल्स/डायटरी सप्लिमेन्टहरु सिफारिस नगर्नु भनी चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवाला बाहेकका निकायलाई नभएको व्यहोरा जानकारी गराउँदै त्यस्ता प्रकारका अस्वाभाविक र गैर कानूनी गतिविधिहरुबाट चिकित्सकहरु भ्रममा नपर्न समेत यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ।‘ भनिएको छ।
.jpg)
Share on Twitter