पुर्व राष्ट्रपति डा.यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री बस्नेत पुगे वीर अस्पताल
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
वीर अस्पतालमा उपचाररत यादवलाई भेटेरै मन्त्री बस्नेतले स्वास्थ्य अवस्था बुझेका हुन् । वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवले वीर अस्पतालको सेवामा कुनै कमी नरहेको मन्त्रीलाई जानकारी गराएका थिए ।
मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवसहित वीर अस्पतालमा नै उपचाररत तीन जना भिआइपीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
पूर्व राष्ट्रपति यादवसहित कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र प्रसाद यादवको वीर अस्पतालमा उपचार भइरहेको छ। पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन्।
यस्तै, मन्त्री कार्कीलाई डेंगु संक्रमण देखिएको छ भने कांग्रेस सह–महामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि विगत ४ दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको प्राडा बस्नेतले जानकारी दिए।
Share on Twitter