केन्द्रीय कारागार अस्पतालमा स्पाइनल स्वास्थ्य सम्बन्धि सचेतना
काठमाडौं:केन्द्रीय कारागार अस्पतालमा स्पाइनल इन्जरी समाधान तथा पुनर्स्थापना र उपचारबारे सचेतनामुलक कार्यक्रम भएको छ । राष्ट्रिय फिजियोथेरापी दिवस , निजामति सेवा दिवस र अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा केन्द्रीय कारागार अस्पतालले यस्तो कार्यक्रम गरेको हो ।
स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्र,काभ्रे साँगाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, नर्शिंग स्टाफहरु , प्रशासनिक तथा कारागार अस्पतालमा रहेका अन्य कर्मचारीहरु , केन्द्रीय सुधार गृह , भद्र सुधार गृह तथा महिला सुधार गृहका अस्पताल नाइकेहरु,स्वास्थ्यसंग सम्बन्धीत कैदीबन्दी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यशालामा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका निर्देशक डा. राजु ढकालको टोलिले स्पाइनल इन्जरीको कारण बारे प्रष्ट पारेका थिए । साथै प्रयोगअभ्यास,खतराका चिन्हहरु तथा रोकथामका उपायहरुका बारेमा प्रस्तूतीकरण समेत गरेका थिए । कार्यक्रममा सहायक जेलर मित्र लुईटेलले अस्पतालले कैदीबन्दीको स्वास्थ्यमा धेरै काम गरेको भन्दै अब नाम अनुसारको केन्द्रिय अस्पताल बनेको बताए ।
त्यस्तै स्पाईनल ईन्जुरी रिह्याब सेन्टरका मेडिकल निर्देशक डा. राजु ढकालले अस्पतालले सही नेतृत्व पाएको भन्दै डा.प्रकाश बुढाथोकीको प्रशंसा गरे । कैदीबन्दीहरुको स्वास्थ्य अधिकारलाई आत्मसात गर्दे विभिन्न बिशिष्टिकृत अस्पतालसंगको संझौता र जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको देखेर स्पाईनल हेल्थमा काम गर्न ईच्छुक भएको उनको भनाइ छ । उनले आगामी दिनमा समेत अस्पतालसंग मिलेर अघि बढ्ने बताए ।
कार्यक्रममा अस्पतालका मे.सु. डा. प्रकाश बुढाथोकीले स्वस्थ रहन पाउनुपर्ने हक कैदी बन्दीलाई पनि भएको बताए । कैदी बन्दीको स्वास्थ्यकालागि विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमापनि यस्ता सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने बताउदै सहयोग गर्ने सबैमा धन्यवाद दिए ।
पुनर्स्थापना केन्द्रबाट मेडिकल निर्देशक डा. ढकाल र कार्यक्रम निर्देशक हरि अधिकारीले अस्पतालका बिरामीहरुलाई सहज होस भन्दै ह्विल चियर हस्तान्त्रण गरेका थिए । यस्तै प्रा.डा. सविना श्रेष्ठले आफ्ना परिबारले लेखेको तथा संकलन गरेका केही पुस्तकहरु सुधार गृहका पुस्तकालयलाई हस्तान्त्रण गरेकी छन् ।
Share on Twitter