एचपीभी खोप किन लगाउने ?
काठमाडौ:आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
७ वटा अस्पतालबाट १४ वर्षका किशोरीहरूलाई खोप दिन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा खोप पाइलटिङका रुपमा दिइने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो । एचपीभ बारे बारम्बार सोधिने प्रश्नहरुलाई परवार कल्याण महाशाखाले स्पष्ट पारेको छ ।
१) HPV भनेको के हो र यसले कस्तो असर गर्दछ ?
HPV (Human Papillomavirus) एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक Human Papillomavirus हो। पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढि क्यान्सर एच.पि.भी. ले गराउँदछ । एच.पि.भी.को २०० भन्दा बढी किसिमका प्रजातिहरू (serotypes) हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि १६ र १८ प्रजाती प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एच.पि.भी को प्रजाती १६ र १८ बाट भएको देखिन्छ । यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्दछ ।
२) HPV संक्रमण कसरी सर्दछ ?
HPV मुख्यत संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ तर यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली (mucus membrane) वा तरल पदार्थ (secretion) सँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाटमहिलामा सर्ने गर्दछ।
३) HPV संक्रमणका चिन्ह तथा लक्षण के कस्ता हुन्छन ?
यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सर समेत गराउन सक्दछ । पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरैजसोमा लक्षण र चिन्हहरू देखिदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ। पछि गएर तल्लो पेट दुख्ने, अनियमित रूपमा रगत बग्ने (Spotting), धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने (Foul smelling discharge), कमजोर हुँदै जाने र रक्तअल्पता जस्ता लक्षणहरू देखिन्छन् ।
४) HPV संक्रमणको कसरी परिक्षण गर्न सकिन्छ ?
स्वास्थ्य संस्थामा गई पाठेघरको मुखको पानीको परिक्षण गरेर HPV संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।
५) HPV संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ ?
• यो रोगबाट बच्ने प्रमुख उपाय भनेको किशोरी अवस्थामा एच.पि.भी. खोप लगाउने नै हो । यो खोप यौन सम्पर्क हुने
उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरूले देखाएको छ।
• संक्रमित पुरुषबाट महिलामा असुरक्षित यौन सम्पर्क हुदा सर्ने भएकोले सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउने ।
• समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउनु पर्दछ।
६) HPV खोपले कुन रोगबाट बचाउँछ र किन लगाउने?
Human Papillomavirus ले गर्दा हुन सक्ने महिलाहरूको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा मुसाबाट बचाउँछ । HPV संक्रमण भए पश्चात हालसम्ममा ठोस चार पद्धति नभएको हुँदा समयमै HPV खोप लगाए संक्रमण हुने सम्भावना अत्यन्त न्युन रहन्छ ।
७) HPV खोप लगाएपछि के कस्ता असर हुन सक्छ ?
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त HPV खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो । साधारणतया यो खोपको प्रयोग पश्चात अवान्छित घटनाहरू देखिने सम्भावना अत्यन्त न्युन रहेको
छ। यसबाट हुन सक्ने सामान्य असरहरूः
१. खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु
२. टाउको दुख्नु / वाकवाकी लाग्नु
३. थकान महसुस हुनु / रिंगटा लाग्नु
४. ज्वरो आउनु
५. Allergic reaction हुनु ।
यी सामान्य असरहरू सामान्य हुन केही समय आफै हराएर जान्छ । खोप लगाए पश्चात देखा पर्न सक्ने यस्ता सामान्य असरहरुको अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तिमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नु/गराउनुपर्ने हुन्छ । यदि यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
८) हाललाई यो खोप कुन उमेर समूहकालाई दिइन्छ ?
हाललाई HPV खोप लगाउन १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरूलाई लक्षित गरिएको छ ।
९) यो खोप अन्य उमेरका किशोरीले कहिले पाउँछन ?
नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा HPV खोप लाई विस्तार गर्दै १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइनेछ ।
१०) यो खोप कहाँ लगाउन पाइन्छ ?
• खोपको उपलब्धताले गर्दा हालको अवस्थामा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय बमोजिम निम्न तोकिएको
अस्पतालमा मात्र लगाउन पाइन्छ । राष्ट्रिय खोप कार्यक्रमबाट • उपलब्ध यो खोप निःशुल्क लगाउन पाइन्छ ।
१. कोशी अस्पताल, बिराटनगर, मोरङ
२. नारायणी अस्पताल, बिरगंज, पर्सा
३. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली, काठमाडौं
४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
५. भेरी अस्पताल, नेपालगंज, बाँके
६. प्रादेशिक अस्पताल सुर्खेत, विरेन्द्रनगर, सुर्खेत
७. डडेल्धुरा अस्पताल, डडेल्धुरा
११) यो खोप कति मात्रा लगाउनु पर्छ ?
हाल उपलब्ध भएको HPV खोप (Cecolin) ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनु पर्छ। दोश्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्छ । HPV खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५% सम्म सुरक्षा प्रदान गर्दछ।
Share on Twitter