स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता
काठमाडौं:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ ।
कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको जनाइएको छ ।
मन्त्री बस्नेतले इजिप्ट सरकारले चिकित्सा विज्ञानलगायत विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकामा आभार प्रकट गरेका छन् । यस्तै उनले दुई देशबीच कायम रहिआएको आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास ब्यक्त गरे ।
इजिप्टका मन्त्री डा गफारले नेपाल र इजिप्टबीच मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध सधै कायम रहने बताए । भेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा र इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल सहभागी थिए । मन्त्री बस्नेत स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिन इजिप्ट पुगेका हुन् ।
Share on Twitter