सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाली कांग्रेसको माग
काठमाडौं: नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’ यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Share on Twitter