चिकित्सा शिक्षा आयोगको दाबी : स्वास्थ्य जनशक्ति अपुग छैन
काठमाडौं: चिकित्सा शिक्षा आयोगले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको स्पष्ट पारेको छ । आयोगले नेपालमा स्वास्थ्य जनशक्तिको अवस्था र प्रक्षेपण सम्बन्धी सार्वजनिक सूचना निकालेर नेपालमा स्वास्थ्यको जनशक्ति अभाव नभएको जनाएको हो ।
बिभिन्न विश्वविद्यालय तथा सिटिइभिटी बाट सम्वन्धन लिएर संचालन गरिरहेका नर्सिङ तथा अन्य स्वास्थ्यका विषयका शिक्षण संस्था बन्द हुने वाताबरण सृजना भएको र ती विधाका जनशक्ति अभाव भएको भन्ने कुरामा सत्यता नरहेको समेत जनाएको छ ।
आयोगको लापरवाहीका कारण नेपालमा पढेका दक्ष चिकित्सक, नर्स, प्यारामेडिक्सहरु युरोप, अमेरिका तथा मध्यपूर्वका विभिन्न देशमा पलायन हुने क्रम बढेको भन्दै आलोचना भइरहेकाबेला आयोगले स्पष्ट पारेको हो ।
आयोगको दावी यस्तो छ :
नेपालमा हाल उपलब्ध स्वास्थ्य जनशक्ति देशको लागि अपुग रहेको, उत्पादन भएका जनशक्तिलाई देशमा टिकाउन नसकेको, चिकित्सा शिक्षा सम्बन्धी विषय अध्ययनका लागि विदेश जानु परेको जस्ता विषयहरू राखी विभिन्न समूहहरूले धर्ना लगायत विरोधका कार्यक्रम सञ्चालन गरी सामाजिक सञ्जाल तथा विभिन्न मिडियाहरुमार्फत प्रचारप्रसार गरेर भ्रम फैलाउने कार्य भइरहेकोमा यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। जुन उद्देश्य हासिल गर्नको लागि आयोग स्थापना भएको हो त्यो प्राप्ति र परिपूर्तिको दिशामा स्थापना कालदेखि नै आयोग क्रियाशील रही चिकित्सा शिक्षा सुधारको क्षेत्रमा धेरै कार्यहरू गरेको विषय यस क्षेत्रका सचेत सरोकारवालाहरुलाई जानकारी नै छ।
हाल नेपालमा मेडिकल चिकित्सक २७ हजार ८ सय ५ जना र दन्त चिकित्सक ४ हजार ४ सय १३ जना नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। त्यसै गरी नर्सिङतर्फ विशेषज्ञ नर्स १ हजार ३ सय २६ जना, नर्स ७३ हजार ८ सय ८९ जना, मिडवाइफ ५१ जना र अ.न.मी. ३७ हजार १ सय ८३ जना नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्। नेपाल आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ५ हजार ६ सय १५ रहेको छ। हाल सरकारी सेवामा डाक्टर ६ हजार १ सय ३८ जना, नर्स/ अ.न.मी. २७ हजार ६ सय ८३ जना, कविराज ६ सय ७४ जना, वैद्य ६ सय ९३ जना र स्वास्थ्य सहायक १५ हजार ८ सय ९६ जना जनशक्ति रहेका छन्। स्रोतः आर्थिक सर्वेक्षण २०७९/८० र नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९ २०८७) यस तथ्यबाट नेपालमा हाल उत्पादित स्वास्थ्यकर्मीको अवस्था छर्लङ्गै देखिन्छ।
योजनाबद्धरूपमा स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सम्बन्धित विषय विज्ञसहितको प्रत्यक्ष संलग्नता, समन्वय र सहयोगमा नेपालका लागि वि. सं. २०८७ सालसम्ममा विधागत क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आकलन, प्रक्षेपण तथा आपूर्ति योजना तयार गरी आयोगबाट नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९ २०८७) तयार गरिएको छ। आयोगबाट सम्पादन भएका सकारात्मक कार्यहरुलाई ओझेलमा पार्ने गरी पूर्वाग्रही भएर भ्रमपूर्ण तरीकाबाट सामाजिक सञ्जाल तथा विभिन्न मिडियाहरूबाट प्रचारप्रसार भइरहेका गलत तथ्यहिन र कपोकल्पित विषयहरूको आयोग खन्डन गर्दछ। यथार्थ जानकारी लिन चाहने सरोकारवालाहरूका लागि उपयोगी होस् भन्ने हेतुले आयोगबाट सम्बन्धित क्षेत्रका विज्ञहरुसहितको सहयोगमा तयार गरिएका नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९ २०८७) आयोगको वेवसाइटको प्रकाशन मेन्युको विविध प्रकाशन शीर्षकमा अपलोड गरिएको छ। यसका अतिरिक्त नेपालको स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउन आयोगबाट निर्माण गरिएको Medical Education Policy 2023 र National Curriculum Framework For Undergraduate Health Professionals Education in Nepal पनि सम्बन्धित सरोकारवालाहरूको जानकारीको लागि आयोगको वेवसाइटको प्रकाशन मेन्युको विविध प्रकाशन शीर्षकमा अपलोड गरी सार्वजनिक गरिसकिएको व्यहोरा समेत अनुरोध गरिन्छ।
सरोकारवालाहरूले विशेष चासोका साथ चिकित्सा शिक्षा सुधारका लागि प्रदान गर्नुभएको शुभेच्छा तथा रचनात्मक सल्लाह, सुझाव तथा पृष्ठपोषणहरूलाई आत्मसात गर्दै आगामी दिनमा आयोग आफ्नो कार्यप्रणालीलाई थप परिस्कृत गर्दै प्रमाणमा आधारित कार्यसम्पादनमा समर्पित रहने विश्वास सबैमा दिलाउन चाहन्छ।
चिकित्सा शिक्षा आयोग
सानोठिमी, भक्तपुर
Share on Twitter