वेपत्ता परिवारको माग, ‘कि लास देऊ, कि सास’
काठमाडौं:सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले आफ्ना आफन्तको बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।
१३ औं अन्तराष्ट्रिय बेपत्ता दिवसको सन्दर्भमा द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरले आयोजना गरेको दिप प्रज्वलोन कार्यक्रमका पीडित परिवारका सदस्यले बेपत्ता पारिएका व्यक्तिका बारेमा परिवारलाई सत्यतथ्य जानकारी गराउनु पर्ने, पीडितलाइ न्याय तथा क्षतिपुर्तिको समेत व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
कावासोती २ की यदुमाया पाण्डेको श्रीमान वेपत्ता भएको १६ बर्ष वितिसक्यो । तर उनले अहिलेसम्म राज्यले दिने राहत समेत पाएकी छैनन् । वेपत्ताको सूचीमा समेत उनी छुटेकी कुरा दुखेसो पोखिन् । राज्य र तत्कालिन विद्रोही पक्षले वेवास्ता गर्दा मुद्धा सेलाउन लागेको उनको भनाइ छ । बेपत्ता भएको मान्छे कतिखेर घर फर्किन्छ भन्ने आशामा दिन बितिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘उहाँको हत्या भयो वा जिउँदै हुनुहुन्छ केही खबर छैन।
अहिले न म विधवा बनेर हिड्नसक्ने अजस्था छ न सधुवा नै। मारेकै भए पनि कम्तिमा चिहान देखाइदेउ भनेर माग गरेका हौं। अस्थिपञ्चर देखेरै भए पनि चित्त बुझाउँथ्यौं। अझैपनि आशा लागेको छ । हाम्रा फाइल गृहमन्त्रालय सम्म पुगिसक्दा पनि त्यसको सुनुवाइ भएको छैन ।’ यस्तै सञ्जालकी अध्यक्ष कावासोती २ कै पावर्ती सिग्देलले दिवस दिवका रुपमा मात्र सिमित भएको बताइन् । उनले भनिन् ‘हाम्रो मान्छे कहाँ हुनुहुन्छ ? जान्न पाउने हाम्रो अधिकार हो । यो कुरा राज्यले हामीलाई भन्नुपर्छ ।’
उनले जिल्लाका बेपक्ता परिवारहरु सूचीकृत हुन बाँकी रहेको सुनाइन् । उनले भनिन् ‘ नवलपुर जिल्लामा १७ जना सुचिकृत भएका वेपत्ता परिवार छ भने अझैपनि सुचिकृत हुन बाँकी परिवारहरु पनि हुनुहुन्छ । उहाँहरु राज्यको सुविधाबाट बञ्चित हुनुहुन्छ । बेपत्ता परिवालाई आफ्नो जीविका चलाउनलाई धौ धौ परेको छ । बेपत्ता भएकाको परिवार कसरी बस्नुभएको छ, त्यसको खोजी कसैले पनि अहिलेसम्म गर्नुभएको छैन ।’
विस्तृत शान्ति सम्झौता भएको ६० दिनमा बेपत्ता पारिएका व्यक्तिहरुलाई सार्वजनिक गर्ने सहमति भएको थियो । तर १६ वर्ष बित्दा पनि आफ्नो परिवारको अवस्था जान्न नपाएको उनको गुनासो छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले द्वन्द्वपीडितलाई राज्यले उचित क्षेतिपूर्ती दिनुपर्ने बताए ।
राज्यले अहिले दिएको राहत पर्याप्त नभएको बताए । उनले द्वन्द्वपीडितको माग पुरा गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।वेवत्ता भएका ब्यक्तिको खोजिकालागि समेत आफुले पहल गर्ने बताए । कार्यक्रममा सञ्जालका सचिव बालकुमारी जिसीले दिवस मनाउदा आफुलाई अझ बढी पिडा हुने गरेको सुनाइन् । कार्यक्रममा बेपत्ता आफन्तहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।
Share on Twitter