महामारीको समयमा तथ्य पुष्टि गरेरमात्र समाचार सम्प्रेसण गर्नुपर्नेमा विज्ञहरुको जोड
काठमाडौं:जोखिमको समयमा संञ्चार क्षेत्र थप जिम्मेवार बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । कोरोना महामारी लगत्तै हाल डेंगु महामारीसँग जुधेको बेला दुई दिन सम्म चलेको “जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका” विषयक अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले समाचार सम्प्रेसण गर्दा तथ्यमा आधारित भएर गर्न सुझाएका छन् । देशमा बेला बेला आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके ठुलो दुर्घटनामा पर्न सक्ने उनीहरुको भनाइ छ ।
अधिकारीहरूले अन्य विधामा कलम चलाउने भन्दा स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर कलम चलाउने पत्रकारहरू एकदमै संवेदनशील हुनुपर्ने बताए । उनीहरूले जोखिम समयमा सचेत भएर कलम चलाउन सुझाव दिनुभएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा। आरपी बिच्छाले स्वास्थ्य पत्रकारिता गर्दा व्यक्तिको मौलिक हकलाई मध्यनजर गर्दै गोपनीयता कायम राखेर समाचार लेख्नुपर्ने बताए । उनले प्रमाणबेस लेखन नभए ठूलो क्षति पुग्ने पनि स्पष्ट पारे ।
कोभिडको चरम विन्दुमा आफु स्वास्थ्य सेवा विभागको महानिर्देशक हुदा गर्नु परेको खोपको उचित व्यवस्थापन र मिडियाको प्रेसरलाई सम्झदै यस्तो जोखिमका बेला सुचना प्रवाहमा हतार गर्न नहुने बताए । जोखिमका बेला सुचना समेत पुर्णरुपले तयार नभएकाले आधा जनतामा पुग्दा त्यसले छुटै सन्देश र अर्थ लाग्ने सदस्य बिच्छाको तर्क छ ।
स्वास्थ्य तथा जनसंख्या सचिव डा रोशन पोखरेलले पत्रकारले हरेक सूचना सम्प्रेषण गर्दा समुदायमा पर्ने असरको विषयमा ख्याल गर्नु पर्ने बताए । उनले सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने सामग्रीले समाजमा सकारात्मक र नकारात्मक दुबै असर पर्ने बताए । साधारण जनताले बुझ्ने र गलत अर्थ नलाग्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले जोखिमको अवस्थामा सही र सत्य सुचनालाई तौलिएर मात्रै जनतामाझ पुर्याउन मिडियाले भूमिका निभाउनु पर्ने बताए । उनले यस्ता कार्यक्रमले पत्रकार र समाजलाई सुसूचित गराउने भएकाले समय समयमा राख्नुपर्ने पनि बताए । महामारीको समयमा अन्य समयको जस्तो सहज उपलब्धता नहुने भएकाले त्यसलाई पनि ध्यानमा राखेर समाचारहरू लेख्न उनले पत्रकारलाई आग्रह गरे ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राले वैज्ञानिक र तथ्यपरक छ कि छैन भन्ने जाँचेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । जोखिम सञ्चारमा एकरूपता ल्याउँनुपर्नेमा उनको जोड रहेको छ । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले समाचार लेख्दा प्रयोग गरिने शब्दहरूमा ध्यान दिनुपर्ने बताए । कहिले काही सही समाचार भएपनि शब्दका कारण दुर्घटना निम्तिन सक्छ उनले भने ।
स्वास्थ्य सेवा विभाग अन्तगर्त स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्वपूर्ण रहने बताइन् । उनी भन्छिन् जव कुनै विपत, प्राकृतिक प्रकोप वा अन्य रोगजन्य संक्रमणका कारण समाज जोखिममा पर्छ त्यसबेला अरु समयको भन्दा बढि मात्रामा सही सूचना आवश्यक पर्छ । तसर्थ स्थानीय निकाय, जनसमुदाय, संचारकर्मीहरुको बढि भूमिका रहन जान्छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले जोखिमका बेला भ्रम तथा हल्लाहरु पनि निकै बाहिर आउने गरेको सुनाए । उनले कोभिडको समयमा फरक फरक व्यक्तिहरूले आफू अनुकुल सन्देशहरू दिदा जनतामा नराम्रोसँग भ्रम पैदा भएको बताए । त्यसलाई चिर्नेकाम सञ्चार माध्यमको भएकाले समाचार लेख्दा विशेष ध्यान दिनुपर्ने बताए । स्वास्थ्य जस्तो प्रत्यक्ष जनतासँग जोडिएको विषयमा ब्रेकिङ समाचारको पछि लाग्न नहुने उनको तर्क छ ।
यस्तो समयमा एकातिर समन्वय, सहकार्य, विश्वासको बढि आवश्यकता पर्छ भने अर्को तर्फ जनमानसमा सही सूचना पुयाउनुको साथै भ्रम तथा हल्लाहरुको निदान गर्दै जानुपर्ने अवस्था रहन्छ । व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले कोभिड महामारीको जोखिम पछि स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि भएको बताए ।
साथै उनले स्वास्थ्यकर्मीहरूमाझ भविष्यमा आइपर्ने महामारीजन्य जोखिमको सामना गर्न सक्ने आत्मविश्वास बढेको समेत दाबी गरे । तर केही चुनौतीहरू थपिएको सुनाए । निर्देशक डा शर्माका अनुसार जोखिमको समयमा निरन्तर सेवा सञ्चालन तथा व्यवस्थापनमा खर्च र दक्ष जनशक्तिको अभाव हुने चुनौति छ । तथापि आगामी दिनमा स्थान तथा आवश्यकता हेरी स्वास्थ्य सामग्रीको सही वितरण योजना अपनाइने छ । निर्देशक शर्माका अनुसार जनशक्तिलाई तालिम र सञ्चालन खर्चको व्यवस्था गरिने छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा प्रशासक डा भक्त बहादुर केसीले जोखिमको समयमा हुने सञ्चारमा सम्बन्धित विज्ञ वा आधिकारिक व्यक्ति र जोखिममा रहेका नागरिकबीच तत्काल दिइने सूचना , जानकारी, परामर्श र राय सुझावको आदानप्रदान हुनुपर्ने बताए । उनका अनुसार जनस्वास्थ्य आपतकालिन को नकारात्मक प्रभावलाई कम गर्नमा जोखिम सञ्चारको महत्वपूर्ण भूमिका रहेको छ ।
जोखिममा जनतामा चेतना जगाउने, अफवाहलाई निरुत्साहीत गर्नु, विश्वास कायम राख्नुनै जोखिम समयमा हुने सञ्चारको उद्देश्य हो । डा केसीले वैज्ञानिक तथा प्रमाण सहितका तथ्याङ्कको लागि विज्ञहरूको सही पहिचान गर्नुपर्ने बताए । उनले जोखिमका समयमा समाधानमुखी सामग्रीहरू मात्र पस्कन अनुरोध समेत गरे ।
स्वास्थ्य मन्त्रालयका उपसचिव कपिल प्रसाद तिमिल्सिनाले समाचार सम्प्रेषण गर्दा तथ्याङ्कलाई केन्द्रमा राखेर गर्न आग्रह गरे । उनले तथ्यांक सामान्य मात्रै तलमाथि हुँदा फरक र गम्भिर असर पर्ने भन्दै तथ्याङ्कको सही व्यवस्थापनमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
कोभिड–१९ को सङ्क्रमणले नेपालमा यस्तै विषम परिस्थिति उत्पन्न गरेको थियो । २५ लाख खोप हराएको भन्दै मिडियाहरूमा समाचारहरू सम्प्रेषण भएका थिए । तर, ती खोपहरू जोखिमको समय भएकाले उचित समयमा सिस्टममा इन्ट्री नहुदाँ गलत सूचना बाहिर आएको थियो । यस्ता विषयमा पत्रकार र सरोकारवाला सबै पक्ष सचेत हुनुपर्नेमा उनको जोड छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले कोभिडको महामारीमा अनावश्यक हल्ला, कोभिड विरुद्धको खोपको बारेमा भ्रमहरू फैलाईएकाले खोप माथि आम जनताको अविश्वास बढेको बताए । गलत सन्देशले गर्दा नागरिकमा अनावश्यक डर उत्पन्न भई खोप लगाउनमा हिचकिचाहट भएको समेत स्मरण गराए ।
बीचबीचमा आइरहने गलत सूचनाहरूले गर्दा यस्तो अवस्थालाई समयमै रोक्नको लागि स्थानीय जनसमुदाय र स्थानीय संरचनाको आवश्यकता टडकारो देखिएकोले स्थानीय जनसमुदाय र संरचनालाई जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्व रहेको डा मरासिनीले बताए । स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले महामारीमा सबैको समन्वय आवश्यक भएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता तथा एचइओसी प्रमुख डा समिर अधिकारीले सही र सत्य सूचनालाई मात्रै प्रोत्साहन गर्न आग्रह गरे । जोखिम सञ्चार ठीक नहुदाँ गलत सूचना र अफवाहहरू फैलिने डर बढी हुन्छ । उनका अनुसार कोरोनाको समयमा खोप लगाउँदा मान्छे मर्छन् भनेर कतिपयले जनतामा भ्रम फैलाएका थिए, जसले गर्दा धेरै नागरिकहरू त्रसित बन्न पुगेका थिए । हल्लाका पछाडि लागेर जनतालाई असर पर्ने भ्रामक सूचनालाई प्रोत्साहन दिनु उपयुक्त हुदैन अधिकारीले भने ।
जोखिम समयमा भ्रामक सूचना सम्प्रेषित गर्दा सञ्चार माध्यम प्रतिको विश्वास कम हुँदै जान्छ । जोखिम व्यवस्थापन प्रभावकारी नहुने र जोखिम थप बढ्ने हुन्छ उनी भन्छन् । अधिकारीका अनुसार सही तरिकाले जोखिम सञ्चार नहुदाँ लाच्छना र भेदभाव बढ्छ ।
गलत सूचनाका कारण कोभिडका समयमा स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरूलाई गाउँ टोल प्रवेशमा रोक लगाएका घटनाहरू समेत हामी माझ ताजै रहेको उनले बताए । यी सबै गलत सूचनाका कारण उत्पन्न भएका घटनाहरू हुन् ।
Share on Twitter