आज रातिदेखि मौसममा क्रमिक सुधार हुँदै
काठमाडौं:आज रातिदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिन अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भने मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।
Share on Twitter