गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौ:उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने “गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।” भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तीका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरे ।
डा केसीले नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झण्झटिलो हुने भएकोले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली नागरिकता दिंदा निवेदकको वा निजको बुवा, आमा, बाजे बज्यै मध्ये कसैको नेपाली नागरिकताको प्रमाण पेश गर्ने, ऐनमै व्यवस्था भएको र सो नागरिकता बनाउँदा स्थानिय तहकै सिफारिसमा सबै प्रकृया पुरा गर्ने भएकोले पुनः गाउँपालिका, नगरपालिका वा नेपाली दुतावासको सिफारिस ल्याउनुपर्ने प्रावधान परिवर्तन गर्नुपर्ने प्रतिनिधिमण्डलको सुझाव थियो ।
यस्तै अनलाइन तथा नेपाली दुतावास वा महावाणिज्य दुतावासबाटै नागरिकता प्राप्तीका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न सुझावहरु संघको तर्फबाट गृहमन्त्रीसमक्ष प्रस्तुत गरिएको छ । जवाफमा गृहमन्त्री श्रेष्ठले सरकारले विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा पार्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखा परे त्यसमा सहजीकरण गर्ने बताए ।
भेटमा कार्यकारी अध्यक्ष केसीसहित, उपाध्यक्ष डीबी क्षेत्री, आइसीसी युवा संयोजक अब्दुल बासिद, यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसीसी थाइल्याण्डका भविन्द्र बस्नेत,पूर्व सल्लाकार टी बि कार्की, एनसीसी थाइल्याण्डका पूर्व युवा संयोजक दिपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सरोज दाहाल कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
Share on Twitter