स्टार अस्पतालमा २०० जनाको जोर्नी प्रत्यारोपण
काठमाडौं:ललितपुरको सानेपास्थित स्टार अस्पतालले पाँच वर्षको अवधिमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ । अस्पतालका बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा दीर्घराज आरसीको नेतृत्वमा डा सुमन मरहठ्ठा र डा राम ईश्वर यादव सहितको टोलीले २ सय जनाको जोर्नी प्रत्यारोपण गरेको हो ।
जोर्नी प्रत्यारोपणको यो संख्यालाई स्टार अस्पतालले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले गरेको सबैभन्दा बढी प्रयारोपण भनेर दाबी गरेको छ । अस्पतालमा मंगलबार एक कार्यक्रम गरी अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले २ सय बिरामीमा प्रत्यारोपण गरेको जानकारी दिए ।
उनले डाक्टरहरुको उत्कृष्ट टिम, अस्पतालका कर्मचारीको सहयोग एवं बिरामीको विश्वासका कारण प्रत्यारोपण गर्न सफल भएको बताए । उनले यो सेवालाई अझ चुस्त बनाउन थप उपकरण तथा प्रविधि भित्र्याउने बताए । अध्यक्ष महर्जनले स्टार अस्पताललाई जोर्नी प्रत्यारोपणको क्षेत्रमा नेपालकै उत्कृष्ट सेन्टर बनाउने दावी गरे ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा दीर्घराज आरसीले निजी अस्पतालमा यति धेरै जोर्नी प्रत्यारोपण हुनु ठूलो कुरा भएको बताए। उनले आफ्नो टिमबाट पछिल्लो १३ वर्षको अवधिमा २ हजारको हाराहारीमा जोर्नी प्रत्यारोपण गरेकोमा २ सय केश स्टार अस्पतालमा गरेको जानकारी दिए। अस्पतालका अर्का जोर्नी प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले नेपालमा प्राइभेट अस्पतालमा छोटो समयमा २ सय जोर्नी प्रत्यारोपण हुनु गर्वको विषय रहेको बताए ।
Share on Twitter