पुरानो मेडिकल कलेजको आइसीयूमा छिरेर नर्समाथि मुक्का प्रहार
काठमाडौं:चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स(पुरानो मेडिकल कलेज)मा ड्यूटीमा रहेकी नर्समाथि आक्रमण भएको छ । आइसियूमा ड्यूटीमा रहेकै बेला नर्सलाई बिरामीका आफन्तले आक्रमण गरेका हुन् ।
त्यहाँ उपचाररत आफ्नी आमाको मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् । सोमबार साझ साढे छ बजे घटना भएको जनाइएको छ ।
आइसीयूमा फोक्सोको क्यान्सरको उपचार गराईरहेकी आमाको आज अपरान्ह मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि मुक्का र लात्ती प्रहार गरेका हुन् ।
सहकर्मीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत चिकित्सक तथा नर्सले उनलाई समाउन खोजेका थिए । तर उम्केर उनी गेटसम्म पुगे । त्यहाँ खटिएका सुरक्षाकर्मी सागर परियाले उनलाई समाउन खोजे तर उनले झोलाबाट धारिलो बस्तु झिकेर हात काटिदिए ।
मृतकका छोरा पछिल्लो पटक आइसियूमा छिर्दा आइसियूको प्रोटोकल अनुसार लगाउनु पर्ने गाउन नलगाइ र जुत्ता लगाएरै भित्र छिरेका थिए । नर्सिङ स्टेसनमा रहेकी नर्सले यसरी बाहिरको जुत्ता लगाएर आउन मिल्दैन खोलेर आउनुहोस् अनि गाउन पनि लगाएर आउनुहोस् भनेर आग्रह गरेकी थिइन् ।
यसपछि ती युवकले एक्कासी आएर गालामा झापड हानेको र पछि ती व्यक्तिले किक हानेको र पञ्चिङ मेसिन प्रहार गरेको श्रेष्ठले बताइन् । ति युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Share on Twitter