फेरिँदै छ महेन्द्र नारायण निधी अस्पतालको मुहार
काठमाडौँ : स्वास्थ्य उपचार महङ्गो भयो भन्ने आवाज नेपालको सडकदेखि संसदसम्म सधैँ उठ्ने गर्दछ । स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने माग पनि बेलाबेला अधिकारकर्मीहरूले उठाउने गरेका छन् ।
अर्कोतर्फ चिकित्सकलाई भेट्नै महङ्गो शुल्क तिर्नुपरेको गुनासो पनि छ । जनताको गुनासो सम्बोधन गर्न काठमाडौँको महेन्द्र नारायण निधी अस्पतालले सर्वसाधरणको सेवालाई प्राथमिकता दिएको छ ।डा. किरणजङ्ग कुँवरले नेतृत्व सम्हालेदेखि अस्पताललाई सेवामुखी बनाउन लागि परेका छन् । नेतृत्व लिएको महिना दिनमै अस्पतालमा डायलाइसिस सेवा सुचारु गरेका छन् ।

भारत र चीनमा पढेका उनले त्यहाँको स्वास्थ्य प्रणाली राम्रोसँग बुझेका छन् । उनले नागरिकलाई सकेसम्म निःशुल्क त्यसो गर्न नसके कम खर्चमा उपचार सेवा दिने आफ्नो योजना रहेको सुनाए ।
‘बिरामीको उपचार सकेसम्म निःशुल्क गर्ने हो तर अहिले नै सबै निःशुल्क गर्न नसकिएपनि कम खर्चमा होस् भनेर म लागिरहेको छु’ डा. कुवँरले भने । ‘अहिले बिहान १० बजेदेखि ४ बजेसम्म कुनै पनि सर्वसाधारणले निःशुल्क रूपमा डाक्टरसँग परामर्श गर्न पाउछन् । तर स्पेशलिष्टहरूसँग भेट्नुपरेमा भने सामान्य अति नै न्यून शुल्क राखेका छौँ ।’ उनका अनुसार हरेक शनिबार ब्लड प्रेसर र सुगरको निःशुल्क परिक्षणको व्यवस्था गरिएको छ । उनले अस्पताललाई उपचार गर्ने थलो मात्र नभइ रोग लाग्नै नदिन जनचेतना जगाउने केन्द्रको रूपमा विकास गर्न लागेको सुनाए ।
उनले भने ‘हामीले अहिले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म जनलर ओपिडी निःशुल्क गरेका छौँ । यो भनेको सर्वसाधारण जो कोही आएर आफ्ना सुरुवाती समस्या वा कुनै रोगबारे जानकारी लिन सकून् र सचेत बनुन् भन्ने हो । हामीले प्रिभेन्टिभ हेल्थलाई फोकस गरेका छौँ’ । सामुदायिक अस्पतालको रूपमा रहेको महेन्द्रनारायण निधी अस्पतालमा सर्वसुलभ तथा गुणस्तरीय सेवा दिँदै आएको डा. कुँवरको दाबी छ । ‘यस अस्पताललाई नेपालकै पहिलो मृर्गौलाको रेफरल सेन्टर बनाएर आम सर्वसाधारणलाई चुस्त दुरुस्त सेवा दिने हाम्रो प्राथमिकता हो । हप्ताको ६ दिन बिहान–बेलुका ओपिडी सेवा सञ्चालन गरेका छौँ’ उनले भने ।
कतिपय मान्छेलाई धेरै शुल्क तिरेपछि राम्रो उपचार हुन्छ भन्ने भ्रम छ । सरकारी र सामुदायिक अस्पतालमा राम्रो उपचार हुँदैन, त्यसका लागि त प्राइभेटमा जानुपर्छ भन्ने बुझाइलाई निरुत्साहित गर्दै सामुदायिक अस्पतालमा कम खर्चमा गुणस्तरिय सेवा पाइन्छ भन्ने उदाहरण बन्ने लक्ष्य रहेको उनले बताए ।

अरुभन्दा फरक र गुणस्तरीय डायलाइसिस सेवा आफूहरूले दिएको दाबी गर्दै उनी भन्छन् ‘अरुकोमा भन्दा हाम्रोमा डायलाइसिस सेवा राम्रो छ किन भने हाम्रोमा नेफ्रोलोजिष्टको अन्डरमा डाक्टरहरूले सेवा दिनुहुन्छ तर अन्त कतिपय ठाँउमा नेफ्रोलोजिष्ट भन्दा पनि सामान्य डाक्टरले सेवा दिइरहेका छन्’ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करिव ५ वर्ष वरिष्ठ मृगौला प्रत्यारोपण तथा मुत्ररोग विशेषज्ञका रूपमा काम गरिसकेका डा. कुँवरले मृर्गौला प्रत्यारोपणसम्बन्धी ओपिडी सेवा पनि सञ्चालनमा रहेको बताए । ‘यो अस्पतालमा मृगौला प्रत्यारोपण पनि सुरु गर्दै छौँ । अहिले लाइसेन्सको प्रक्रियामा छौँ । सरकारले लाइसेन्स दिनासाथ सरकारी शुल्कमै हामीले ट्रान्सप्लान्ट गर्ने छौँ’ उनले भने । उनले नेपाल सरकारले प्रदान गर्ने बिमाका सेवाहरू सुचारु गरी नेपालभरिका बिरामीलाई सर्वशुलभ र भरपर्दो सेवा दिने तयारीसमेत रहेको बताए ।
उनले सेवामुखी संस्थाहरूले डायलाइसिस मेसिन अनुदानस्वरुप दिन सकिने बताए । यस्तै युरोलोजीमा अस्पतालले एडभान्स सेवा सुरु गर्न लागेको छ । यस्तै छालाका लागि पनि विशेषज्ञसहितको सेवा सुरु हुन लागेको जनाइएकाे छ । वाथरोग र इन्डोक्राइनोलोजीमा पनि विशेषज्ञसहितको सेवा अस्पतालले दिन लागेको छ । गाइनो, आँखा नाक कान लगायत सबै क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने उनको भनाइ छ ।
Share on Twitter