नागदहमा लाग्ने नाग पञ्चमी मेलाको तयारी अन्तिम चरणमा
काठमाडौं:ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा सोमबार लाग्ने नाग पञ्चमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष साउन शुक्ल पञ्चमीका दिन नागपञ्चमी मेला लाग्ने गर्दछ ।
मेलालाई केन्द्रित गरेर सरसफाई, बाटोको खाल्डाखुल्डी पुर्ने, नागदह छेउमा रहेको नागमन्दिरलाई रंगरोगन र वरपर ध्वजा–पतकाले सिंगार्ने काम सकिएको मेला मूल आयोजक समितिका संयोजक समेत रहेका ललितपुर महानगरपालिका २४ का वडाध्यक्ष दिनेश जङ पाण्डेले जानकारी दिए ।
यो वर्ष करिब ४० हजार दर्शनार्थीले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ । सोमबार विहान ३ बजेदेखि नै भक्तजनहरुलाई दर्शनको व्यवस्था गरिने संयोजक पाण्डेले बताए । नागपञ्चमी मेलाका लागि महानगरपालिकाको सांस्कृति र पर्यटन शाखाबाट साढे २ लाख बजेट विनियोजन भएको छ।
लगनखेलबाट करिब ५ कि.मी. दक्षिणतर्फ रहेको नागदह ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह हो। नागदहको गहिराई समग्र २५ फिट भए पनि बीच भागमा ४१ फिट रहेको छ। दहको चौडाई ९ सय ३७ मिटर रहेको समितिले जनाएको छ ।परापूर्वकालमा तालको रुपमा रहेको काठमाडौँको पानी चोभारका गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महत्व रहेको छ।
आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेको बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक विधिबाट छेदन गरी पानी बाहिर पठाएको किम्वदन्ती छ। तर, दुई नाग र नागिनीले आफ्नो बासस्थल बिगारेको बताउँदै विद्रोह गरे ।
अब म कसैलाई बाँकी नराख्ने भन्दै नाग–नागिनीले रौद्र रूप देखाएपछि मञ्जुश्रीले नागदह र टौदह बनाइदिए । नागिनी नागदहमा र नाग टौदहमा बस्न थालेको जनश्रुती छ । हरेक वर्ष पानी पर्ने सिजनमा नाग टौदहबाट नागदहमा नागिनीलाई लिई दुवै पनौतीको जात्रा हेरेर फर्किन्छन् भन्ने मान्यता छ ।
Share on Twitter