पदस्थापन भएको ४ महिनामै ५ एआईजीको सरुवा
काठमाडौँ : सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको हो ।
उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापालाई ल्याइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ । यसअघि ज्ञवाली उपत्यका प्रहरी कार्यालय, टेकप्रसाद राई प्रशिक्षण प्रतिष्ठान, मिरा चौधरी कार्य विभाग र सन्दीप भण्डारी मानवश्रोत विकास विभागमा कार्यरत थिए ।
Share on Twitter