शव बोकेको गाडीसहित ७ सवारी साधन एकैठाउँ ठोक्किए
काठमाडौं: चितवनको भरतपुर महानगरपालिका–९ टिकौलीमा भएको सवारी दुर्घटनामा २० जना घाइते भएका छन् ।टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा दुर्घटना भएको हो ।
बिहान ११ः४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की र ३८ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । सोही दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का महोन तामाङको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मध्यम घाइते हुनेहरुमा चितवनको रत्ननगर नगरपालिका–१४ का ४१ वर्षीय पुर लामा, सोही ठाउँका ५५ वर्षीय बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, सोही ठाउँका ४७ वर्षीय दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्ण–४ की ४८ वर्षीया तारा श्रेष्ठ रहेका छन् ।
यसैगरी नवलपुरको गैंडाकोट नगरपालिका–८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था पनि मध्यम छ । चितवनकै रत्ननगर नगरपालिका–१४ का ३३ वर्षीय शंकर परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Share on Twitter