इन्टर्नसिप गर्नेमाथि मेडिकल कलेजको शोषण, लगातार ३६ घण्टाको डिउटी
जुनियर डाक्टर कमिटीद्वारा काउन्सिलको ध्यानाकर्षण
काठमाडौं : नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले मेडिकल कलेजमा इन्टर्नसिप गर्ने विद्यार्थीको समयबारे नेपाल मेडिकल काउन्सिलको ध्यानाकर्षण गराएको छ ।
विभिन्न मेडिकल कलेजहरूले ‘इन्टर्नसिप गर्ने विद्यार्थीहरूलाई लगातार ३६ घण्टासम्म काममा खटाउने गरेको गुनासो आएपछि कमिटीले काउन्सिलको ध्यानाकर्षण गराएको हो । कमिटीको टोलीले काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई भेटेर ध्यानाकर्षण गराएको जुनियर डाक्टर कमिटीका सदस्य सचिव डा बिकास सिटौलाले जानकारी दिए ।

डा कोइरालाले कमिटीको राखेका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले इन्टर्नसिप निर्देशिकाको कार्यान्वयन गर्न सबै मेडिकल कलेजहरूलाई आग्रह गरेका छन्। डा.कोइरालाले २०७९ पुस २९ गते बसेको काउन्सिलको पूर्ण बैठकको निर्णयलाई सूचना मार्फत मेडिकल काउन्सिलको वेबसाइटमा राख्न समेत डा. कोइरालाले निर्देशन दिए ।
निर्देशिकामा इन्टर्नसिप गर्ने विद्यार्थीकालागि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको छ । जुनियर डाक्टर कमिटीले इन्टर्नसिप गर्ने विद्यार्थीकालागि हप्तामा एक दिन बिदा दिनसमेत माग गरेको छ ।
Share on Twitter