बागमती प्रदेशका १३ प्रदेश अस्पतालका सबै शैया निःशुल्क
काठमाडौं:बागमती प्रदेशले प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालका शैया निःशुल्क गर्ने भएको छ । एक सूचना जारी गर्दै भदौ एक देखि प्रदेश मन्त्रालय मातहतका १३ अस्पताल तथा १३ आयुर्वेद केन्द्रका सबै शैया निःशुल्क जनाएको छ । क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका आयुर्वेद चिकित्सक डा.रविन भुषालद्वारा जारी सूचना अनुसार साउन २२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार यो व्यवस्था गरिएको उल्लेख छ ।

यसैगरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ। यो सेवा पनि भदौ १ गतेबाट लागू गर्न मन्त्रालयले निर्देशन गरेको छ ।

मन्त्रालयले सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा ईकाई स्थापना गर्न निर्देशन गरेको छ। मन्त्रालयले ईकाई मार्फत् असहाय, अपाङ्ग, विपन्न, वेवारिसे बिरामीको उपचार व्यवस्थित गर्ने निर्णय भएको हुँदा अनिवार्य रुपमा कार्यान्वयन गर्न भनेको छ।

यता बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आजै पत्रकारहरुसँग कुराकानी गर्दै १३ वटा अस्पतालका आठ सय एक शैया निःशुल्क हुने व्यवस्था गरिएको जानकारी दिए । गत आर्थिक वर्ष २०७९र८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा लिएका छन्। मन्त्री जोशीले भने, “अहिले गरिब र विपन्न नागरिकलाई निःशुल्क शय्या उपलब्ध गराएका छौँ भने आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जानेछौँ।”
प्रदेशका प्रयोगशालामा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै डेङ्गु परीक्षण निःशुल्क गरिएको जानकारी दिए। मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए। उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरुलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए।
मन्त्री जोशीले भने, “कमजोर आर्थिक अवस्थाका कारण कसैको उपचार रोकिनु हुँदैन, प्रदेशका अन्य अस्पतालले १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्छ।” निजी अस्पताललाई पनि यसअघिनै १० प्रतिशत शय्या निःशुल्क गर्न निर्देशन दिइसकिएको छ।
Share on Twitter