पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौँ :पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको पुस्तक ‘सम्झनामा जीतसिंह खड्का’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं सांसद पशुपतिशमशेर राणाले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै सांसद राणाले स्व. खड्का निष्ठावान नेता भएको बताउनुभयो ।
कार्यक्रममा सांसद हितबहादुर तामाङ, बद्री मैनाली, रमेशकुमार महत, नेता श्यामकुमार केसीलगायतले स्व. खड्काको चर्चा गरेका थिए । स्व. खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि माधव घिमिरे, राजेश्वर देवकोटा, मोहनविक्रमसिंह, स्व. पोष्टबहादुर बोगटी, अर्जुननरसिंह केसी, स्व. गणेश पण्डितलगायत ५७ जनाले उहाँको व्यक्तित्वमाथि चर्चा गर्नुभएको छ ।
जीतसिंह खड्काकी धर्मपत्नी सिता थापा खड्काले प्रकाशन गर्नुभएको उक्त पुस्तक लेखक नारायण नेपाल र बलराम फुयालले सम्पादन गर्नुभएको छ ।