चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान
काठमाडौं:चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । हालका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको कार्यकाल भदौमा सकिन लागेकाले रिक्त हुन लागेको उपाध्यक्ष पदकालागि सिफारिस समितिले आवेदन आह्वान गरेको हो ।
हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको सकिन लागेपछि साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले आवश्यक योग्यता पुगेका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले उपाध्यक्ष आयोगको प्रखुम कार्यकारी रहने व्यवस्था गरेको छ ।
ऐनको दफा २३ बमोजिम लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ । सो समितिले आवेदन आएका मध्येबाट ३ जनाको नाम सरकारसमक्ष सिफारिस गर्छ । समितिले सिफारिस गरेका नाम मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेछ । उपाध्यक्षकाृ कार्यकाल चार वर्षको हुने छ ।
आयोगको उपाध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तीमा स्नातकोत्तरको उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले समेत आवेदन दिन सक्नेछन् ।
शिक्षण संस्थाको हकमा बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रूपमा ख्याती प्राप्त गरेको पुस्ट्याइँ हुने प्रमाण वा स्वयम घोषणा गरेको व्यक्तिले समेत आवेदन दिन पाउनेछन् । आवेदकलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ। आवेदकले ४ वर्षभित्र गर्ने कार्ययोजनासहितको सोचपत्र समेत प्रस्तुत गर्न सिफारिस समितिले भनेको छ।

Share on Twitter