७४ जिल्लामा फैलियो डेंगी
काठमाडौं: डेंगी भाइरसको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म ७४ जिल्लामा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सन् २०२३ को जनवरी देखि आठ महिनाको अवधिमा डेंगी संक्रमितको संख्या १० हजार नाघेको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ७ सय २६ जनालाई डेंगी सङ्क्रमण देखिएको छ । संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ ।
कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ (८९ दशमलव ६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।
मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाडौँमा एक सय ५१ सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जनामा डेंगुका बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो ।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले टोकेपछि लाग्छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगी सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । डेंगुबाठ बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
Share on Twitter