आँखा परिक्षण गर्न पुग्ने बिरामीमध्य ५० प्रतिशतमा आँखा पाक्ने समस्या
काठमाडौं : देशभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरुको चाप बढेको छ ।आँखा परिक्षण गर्न पुग्ने बिरामीमध्य ५० प्रतिशतमा आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) देखिएको जनाइएको छ ।
नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरुमा आँखा जाच गराउन पुग्ने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिस देखिएको संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले जानकारी दिए ।‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ’ उनले भने ।
अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन दिएको नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले बताए ।
बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, किर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।
आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन् । हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउछन् ।
सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ । देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले त बिद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।
Share on Twitter