संघीय तथा प्रादेशिक अस्पतालमा डेंगीको उपचार निशुल्क
काठमाडौं: सरकारले डेंगु परिक्षण शुल्कमा एकरुपता ल्याउने भएको छ । सबै स्वास्थ्य संस्थामा डेंगु परिक्षण शुल्कमा एक रुपता ल्याउन समिति बनाएर काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को प्राविधिक सहयोगमा ‘डेंगी महामारी र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले संघिय र प्रादेशीक अस्पतालमा डेंगु परिक्षण निशुल्क गरेको जानकारी दिए ।
उनले भने, ‘संघीय तथा प्रादेशिक अस्पतालमा उपचार निशुल्क गरेका छौँ । निशुल्क उपचारका लागि ती अस्पतालहरुलाई मन्त्रालयले आवश्यक बजेटको विनियोजन गरिदिएको छ । यस्तै केही स्वास्थ्य संस्थाले मनलाग्दी शुल्क लिएको भन्नेपनि सुनेका छौँ । ७०० देखि १२५० सम्म लिएको पाइएको छ हामीले त्यसमा एकरुपता ल्याउने काम गरिरहेका छौँ’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी संक्रमणका लागि सशक्त भएर काम गरिरहेको बताए । संक्रमण नियन्त्रणमा जनशक्तिको अभाव र यतिवेलाको चुनौतीको रुपमा रहेको बताए ।
इडिसिडी महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रुप लिनेसक्ने चेतावनी दिए । उनले गत वर्ष महामारीको रुप नलिएको ठाँउमा जतिबेला पनि महामारीको रुप लिन सक्ने बताए ।गतवर्ष काठमाडौं उपत्यका, हेटौडा, चितवनमा डेंगीले महामारीको रुप लिएको थियो ।
यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उनले वर्षौसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताए । डा मरासिनीका अनुसार अहिलेसम्म सुनसरीमा ५ हजार ३९८ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. विमल शर्मा चालिसेले नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखिएको बताए । उनले अहिले काठमाडौंमा डेंगीका बिरामी खासै नदेखिएको भन्दै डेंगीले काठमाडौंमा महामारी लिने या नलिने भन्न थप २– ३ हप्ता कुर्नपर्ने बताए ।
नेपालमा सबैभन्दा धेरै सेरोटाइप १ र ३ देखिएको समेत उनले जानकारी दिए । साथै ८० प्रतिशत संक्रमितलाई भने डेंगीको लक्षण नदेखिएको बताए । एकै व्यक्तिलाई दोहोरिएर संक्रमण भए संक्रमितलाई गम्भिर बनाउन सक्ने उनको धारणा थियो । कार्यक्रममा उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बाँस्तोलाले डेंगी नियन्त्रणका लागि टायर फाल्ने अभियान सुरु गर्नपर्ने बताए ।
उनले अहिले पनि जताततै टायर रहेकाले ती टायरमा जमेको लार्भाले नै डेंगी फैलाइरहेको बताए । स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले सम्भावित महामारी रोक्न सबै पक्ष एक जुट भएर लाग्नु पर्ने भन्दे जनचेताको अभिबृद्धिमा पनि सरकार लाग्नु पर्ने बताए ।
वर्षायामसँगै डेंगी संक्रमण बढिरहेको छ । यो वर्ष ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको छ । ७ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी संक्रमण सुनसरीको धरानमा देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरुमा यस वर्ष संक्रमण धेरै देखिएको छ ।
Share on Twitter