डेंगुको संक्रमण अझै भयावह अवस्थामा पुग्नसक्छ : डा. शेरबहादुर पुन
काठमाडौं : पछिल्ला केही दिनयता नेपालमा डेंगु संक्रमण बढ्दो क्रममा छ । गत वर्ष महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि तिब्र रुपमा बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । यो बर्ष जनवरी देखी अहिलेसम्म सोलुखुम्बु , धनुषा, प्युठान मुगु , हुम्ला र कालिकोट बाहेक ७० जिल्लामा डेंगु पुष्टि भैसकेको छ ।
डेंगु नियन्त्रणकालागि स्थानीय सरकारले विभिन्न जनचेतना मुलक कार्यक्रम संगै लामखुट्टेको लार्भा नस्ट गर्ने अभियान सुरु गरेको छ । तर अझैपनि संक्रमणको ग्राफ उकालो लाग्न रोकिएको छैन ।
डेंगको संक्रमण अझै भयावह अवस्थामा पुग्नसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनको भनाइ छ । प्रस्तुत छ डेंगी संक्रमण नियन्त्रण र उपचारबारे डा. पुनसँग मातृभूमि सन्देशकालागि प्रकाश बस्यालले गरेको कुराकानी ः
डेंगु कसरी लाग्छ ?
डेंगु एडिस (adis) जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्।
३० देखि ४५ दिनसम्म बाँच्ने यस लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अन्डा पार्छ। एक पटकमा एक सय ५० भन्दा बढी अन्डा पार्ने यो सातदेखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ ।
यसकारण यो लामखुट्टेले धेरैलाई डेंगु सार्ने सम्भावना हुन्छ । यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई लक्षण देखिन्छ । पहिलो टोकाइमा लक्षण नदेखिए पनिदोस्रो पटक टोकेमा गम्भीर समस्या उत्पन्न हुन्छ ।
डेंगु संक्रमणको अहिलेको अवस्था कस्तो हो ?
अहिलेको अवस्था अवस्था हेर्दा डेंगु संक्रमण उत्कर्ष तिर नै गएको जस्तो देखिन्छ । त्यो भनेको अझै एक दुई हप्ता संक्रमण बढ्न सक्ने सम्भावना रह्यो । त्यसकारणपनि हामी चिन्ता मुक्तको अवस्थामा छौँ भन्न मिलेन ।
डेंगु नियन्त्रणकालागि लामखुट्टेको लार्भा नष्ट गर्ने भनिएको छ त्यो बोलेर या सुनाएरमात्र हुँदैन सबै मिलेर लामखुट्टेका लार्भालाई खोजेर नष्ट गर्ने अभियान देशैभर सुरु गर्नुपर्छ । यदि यो अभियानमा ढिलाई भयो भने त स्थिती भयावह हुन सक्छ ।
लार्भा नष्ट अभियानले संक्रमण कम होला त ?
लार्भा नष्ट गर्ने अभियानले संक्रमण हुन नदिने भन्ने होइन तर अहिले जहाँ संक्रमण भइरहेको छ त्यो ठाँउबाट अन्य क्षेत्रमा फैलन रोक्ने हो । अहिले धरान डेंगुको इपिसेन्टर हो भने यो लार्भा खोज र नष्ट अभियानले त्यो ठाँउबाट अन्त फैलन रोक्ने गर्छ ।
डेंगु भएको कसरी थाहा पाउने ?
सामान्यतया तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु परिक्षण गरिहाल्नुपर्छ ।
कतिपयलाई वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने लक्षण पनि देखिन सक्छ । यस्ता लक्षण देखिएमापनि तुरुन्त डेंगु परिक्षण गर्नुपर्छ ।
अन्य कारणले गर्दा पनि ज्वरो आउन सक्छ, डेंगुको ज्वरो भनेर कसरी छुट्याउने ?
डेंगुको लक्षण अन्यभन्दा केही फरक हुन्छ । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्नेजस्ता लक्षण देखियो भने परीक्षण गर्नुपर्छ ।अर्को कुरा डेंगु संक्रमण भएमा शारिरिक पिडा सहनै नसक्ने गरी हुन्छ जुन अरुवेला कम हुन्छ ।
यसको संक्रमण एक–अर्कामा सर्ने सम्भावना कति हुन्छ ?
डेंगु व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर, एउटै ठाउँमा बस्ने परिवार, एउटै फ्ल्याटमा बस्ने व्यक्तिमा संक्रमण भएको देखिन्छ । यसको कारण एउटै संक्रमित लामखुट्टेले वरिपरिका धेरैजनालाई टोक्नु हो ।
यसरी एउटै लामखुट्टेबाट धेरैजनामा संक्रमण सर्न भने सक्छ, तर मानिसबाट मानिसमा भने सर्दैन ।
डेंगु लागेको कति दिनमा निको हुन्छ ?
सामान्यतया हामीले एक हप्तादेखि १० दिन सम्ममा निको हुन्छ भन्छौँ, तर मेरो अनुभवमा अलि फरक छ । डेंगु क्लिनिकमा आउने बिरामीसँग बुझ्दा नौ–दश दिन पछि मात्र खानामा अलि रुचि लागेको पाउछौँ ।
खाना हेर्दै वाकवाकी लाग्ने समस्या दश दिनपछि अलि कम हुँदै जाने गरेको मेरो अनुभव छ । यसमा कसैलाई छिटो निको भएको पाउछौँ । यो मेरो नितान्त अनुभवका आधारमा भनेहो हुँ ।
डेंगु संक्रमितले जथाभावि औषधि प्रयोग गरेको पाइन्छ, कुन औषधि खाँदा उपयुक्त होला ?
साच्चै भन्नुपर्दा यसको यहि औषधी हो भन्ने छैन । तर लक्षणको आधारमा हामीले यो औषधीहरु दिने गर्छौ । खासगरी दुखाई हुने भएकाले त्यो पिडा कम गर्न हामीले ‘प्यारासिटामोल’ कै प्रयोग गर्ने गर्छौ ।
तर दुखाइ कम गर्ने नाउमा जथाभावी औषधि सेवन गर्नु हुँदैन । यसले थप जटिलता निम्त्याउन सक्छ । ज्वरो आउँदा आफूखुसी फ्लेक्जोन, ब्रुसेटलगायत दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन । मकहाँ आउने धेरै बिरामीले दुखाइ कम गर्ने औषधि सेवन गरेको सुनाउनुभयो तर यस्ता औषधिले झन् समस्या बल्झिन सक्छ, त्यसतर्फ पनि सचेत रहनुपर्यो।
यस्ता औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । पीडा असैह्य भयो भने पारासिटामोल सेवन गर्दा हुन्छ तर जथाभावी औषधि सेवन गर्नु हुँदैन । सकेसम्म घरमा बस्दा झोलिलो खानेकुरा बढी खाने, जीवनजल खाँदा अझ स्वास्थ्यलाई फाइदा पुग्छ ।
यसबाट कसरी बच्न सकिन्छ ?
लामखुट्टेको टोकाइबाट यो संक्रमण हुने भएकाले हाम्रो घरवरपरको सफाइमा विशेष ध्यान दिनुपर्छ । टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।
साथै, सुत्दा झुलको प्रयोग गर्ने, साना बालबालिकालाईपनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ । यो लामखुट्टे दिउँसोको समयमा सक्रिय हुने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।
Share on Twitter